झिमरुक नदिको मुहान: गौमुखी

झिमरुक नदिको मुहान: गौमुखी

झिमरुक नदिको मुहान: गौमुखी

प्युठान जिल्लाका महत्वपूर्ण धार्मिक र प्राकृतिक सम्पदामध्ये गौमुखी पनि एक हो । गौमुखी भिमरुक अर्थात् धर्मावती नदीको मुहान हो । मानिसहरूको धार्मिक आस्था एवम् विश्वास जोडिएको तीर्थस्थल पनि हो, गौमुखी । यो ठाउँ गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खालेक श्रृङ्खलाको खाँचमा अवस्थित छ । गौमुखी गाउँपालिकाको नामाकरण पनि यही तीर्थस्थलको नामबाट गरिएको हो ।

गाईको मुख आकारको पहराको कन्दराबाट झिमरुक नदीको पानी निस्किएको हुँदा यस क्षेत्रको नाम गौमुखी रहन गएको हो । पानी निस्कने यो मुहान क्षेत्रमा एउटा गुफा पनि छ । करिब ४५ फिट लम्बाई, १८ फिट चौडाई र २० फिट उचाई रहेको यो गुफाभित्रबाट नदीको पानी निस्किएको छ । गुफाको माथिल्लो भागमा गाईका थुनजस्ता आकृतिहरू रहेका छन् । जसबाट पानीको धारा झर्दा गाईको थुनबाट दूध निस्किएको जस्तो देखिने हुँदा धार्मिक आस्था भएका व्यक्तिहरूका निमित्त यो स्थल गौमाता अर्थात् लक्ष्मीको बासस्थान हो भन्ने विश्वास जागृत हुन गएको पाइन्छ ।

गौमुखी क्षेत्रको खोजीको इतिहास धेरै पुरानो भने छैन । आजभन्दा करिब १०० वर्षअघि बाग्लुङ निसी क्षेत्रका भैँसीपालक किसान तोंगरा बुढा निसेल (निसीका बासिन्दा) ले घुमन्ते शैलीमा भैँसी चराउँदै हिँड्ने क्रममा यस क्षेत्रमा आएको र भैँसीगोठ छाउनको लागि यहाँको भीरबाट खर काटेर संग्रह गर्न सुरक्षित ओडार खोज्ने क्रममा यो गुफा र पानी निस्कने मुहान फेला पारेको तथा उनैले यो स्थललाई गौमुखी नामकरण गरेको भनाइ छ । निसी क्षेत्रबाट आएका तिनै बुढामगरका सन्तानहरू नै यो धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र विकासमा सक्रिय रहेको पाइएको छ ।

यस क्षेत्रमा माघे संक्रान्तिको दिनमा भव्य मेला लाग्दछ । प्युठान, रोल्पा, बाग्लुङ तथा गुल्मी क्षेत्रका हजारौँ भक्तजनहरूले यस मेलामा सहभागिता जनाउने गरेको पाइन्छ । पशुबलि चढाउन निषेध गरिएको यस धार्मिक स्थलमा भक्तजनहरूले स्नान गर्ने, गाईको दूधको धारा हाल्ने, गाईको घ्यूको धुप हाल्ने, घण्ट तथा त्रिशूलहरू चढाउने, वस्त्र, सुन तथा चाँदीका ध्वजाहरू चढाउने र परेवा उडाउने परम्परा छ ।