बाइसमुल झरना: गौमुखी गाउँपालिका - २ मा अवस्थित

बाइसमुल झरना

बाइससमुल झरना

प्युठान जिल्लाको महत्वपूर्ण प्राकृतिक सम्पदाहरूमध्ये गौमुखी गाउँपालिका क्षेत्रमा रहेको बाइससमुल झरना पनि एक हो । यो झरना गौमुखी गाउँपालिका वडा नम्बर २ को अर्खा क्षेत्रमा रहेको छ । प्युठानको पवित्र धार्मिक क्षेत्र गौमुखीको नजिकै यो सुन्दर झरना रहेको छ । यस गाउँपालिकाको ठूलाचौरदेखि करिब ९ घण्टाको पैदलयात्रा पछि यो झरनामा पुग्न सकिन्छ ।

अर्खा क्षेत्रको जंगलमा रहेका स-साना २२ वटा पानीका मूलहरूबाट जम्मा भएको पानी लामो झरनाको रूपमा खस्ने भएको हुँदा स्थानीय मानिसहरूले यस झरनालाई बाइससमुल झरना नाम दिएको देखिन्छ । यो झरनाको पानी गौमुखी क्षेत्रबाट आएको झिमरुक अर्थात् धर्मावती नदीमै मिसिन्छ । पानीका मूलहरू रहेको क्षेत्रदेखि गणना गर्दा करिब २०५ मिटर लामो क्षेत्रमा यो जलप्रपात विस्तार भएको छ । यद्यपि मुख्य झरना भने १५० मिटर अग्लो रहेको छ । त्यसैले यो नेपालकै लामो अथवा अग्लो झरनाहरूमध्ये एक मानिन्छ । यो झरनाको अग्लो र लामो जलप्रपातको दृश्यावलोकनले यहाँ पुग्ने यात्रीहरूलाई आनन्दित तुल्याउने गर्दछ ।

झरनाको तल्लो भागमा यसको बेगले निर्माण गरेको ठूलो तलाउ रहेको छ । यो तलाउ वा प्राकृतिक दहमा भरिएको जलराशिले पनि मानिसको मन लोभ्याउने गर्दछ । यस दहबाट समय-समयमा ठूला सर्पहरू निस्कने गर्दछन् । त्यसैले यो दहमा नागहरूको बास रहेको छ भन्ने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ । यस बाहेक यस जलप्रपात क्षेत्रमा देवी देवताको समेत बास रहेको विश्वास रहिआएको छ । मगर समुदायको अधिक बसोबास रहेको यस क्षेत्रका बासिन्दाले झरना तथा दह क्षेत्रमा सीम-भूमे देवताको बास रहेको विश्वास गर्दछन् र धार्मिक आस्था प्रकट गर्दछन् ।

विशाल जलराशि तथा जलप्रपातहरू संसारभर पर्यटकलाई आकर्षित गर्ने मुख्य प्राकृतिक आकर्षण रहिआएका छन् । त्यसैले समुद्र तथा तालका किनारहरू र यस्ता झरनाहरू पर्यटकका विशेष रोजाइका गन्तव्य मानिन्छन् । यसर्थ गौमुखी तथा यो बाइस मूल झरनालाई आधार मानेर यस क्षेत्रमा धार्मिक तथा पर्यावरणीय पर्यटनको योजनाबद्ध विकास गर्न सकिने देखिन्छ ।