झाक्रीढुङ्गा: गौमुखी गाउँपालिका - ३ रजवारामा रहेको प्रशिद्व धार्मिक सम्पदा
झाँक्रीढुङ्गा, रजवारा
तस्बिरमा देखिने ढुङ्गालाई स्थानीय बासिन्दाहरूले ' झाँक्रीढुङ्गा ' नामले सम्बोधन गर्दछन् । यहाँ गहिरो आस्थाका साथमा पशुबली चढाएर पूजाआजा गर्दछन् र अपेक्षित फल प्राप्त हुने विश्वास गर्दछन् । प्युठान र आसपासका जिल्लाका बासिन्दाहरूका लागि समेत यो ढुङ्गो धार्मिक आस्थाको ठाउँ रहेको छ । त्यसैले यो ढुङ्गो पनि यस जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा हो । यो गौमुखी गाउँपालिकाको वडा नम्बर ३ रजवारा क्षेत्रको जंगलमा रहेको छ ।
भूत, प्रेत, बोक्सी जस्ता खराब आत्मासँग सम्पर्क गर्न सक्ने र तिनलाई बसमा पार्न सक्ने अलौकिक शक्ति आर्जन गरेको विश्वास गरिने मानिसलाई भाँक्री भनिन्छ । भाँक्री परम्परा तिब्बती बोन धर्ममा, खस आर्य संस्कृतिमा र परम्परागत प्रकृतिपूजक धर्ममा पनि अभ्यासमा रहेको पाइन्छ । प्युठान जिल्लामा यी तीनवटै धार्मिक परम्पराको अस्तित्व भेटिने हुँदा भाँक्रीप्रतिको विश्वास गहिरोसँग स्थापित भएको पाइएको छ । यस्ता भाँक्रीहरूको मृत्युपछि उनीहरूको आत्मालाई देवता सरह पूजाआजा गर्ने र उनीहरूबाट भाकल पूरा हुने विश्वास गरिन्छ । त्यसैले रजवाराको भाँक्रीढुङ्गो पनि मल्लरानी गाउँपालिकाको कान्द्रेखोला किनारमा पूजा गरिने भाँक्रीथान जस्तै धार्मिक उपासनाको केन्द्र हो भन्ने देखिन्छ । यो धार्मिक परम्परा यस क्षेत्रका खाम मगर समुदायको धार्मिक अभ्याससँग विशेष सम्बन्धित रहेको देखिन्छ ।
यो झाँक्रीढुङ्गाको विषयमा रहेको लोक विश्वासअनुसार कुनै समयमा अलौकिक शक्ति आर्जन गरेका एक भाँक्री आफ्नी बुहारीसँग जंगलमा प्रेमालाप गरिरहेका थिए । कसैले देखेपछि ती दुवै ढुङ्गामा परिणत भए । यहाँ रहेको ठूलो ढुङ्गो भाँक्री र सोही ढुङ्गोतर्फ फर्किएको जस्तो देखिने सानो ढुङ्गो उनकी बुहारी रहेको जनविश्वास छ । वि.सं. १९५० मा स्थानीय बासिन्दा रामजाली बुढामगरले यस ढुङ्गामा भाँक्रीको बास रहेको अनुभव गरेको र उनकै समयदेखि यसमा पूजाआजा गर्ने परम्पराको आरम्भ भएको जनविश्वास रहिआएको छ ।
श्रावण महिनामा बाहेक अन्य ११ महिनाहरूमा यस ढुङ्गामा पुत्र प्राप्ति, रोग मुक्ति र वैदेशिक रोजगारी सफलताको कामनाले भाकल गर्ने र पूजाआजा गर्नेको भीड हुने गर्दछ । आइतबार र मंगलबार यहाँ भक्तजनहरूको विशेष भीड लाग्ने गर्दछ । कुनै समय जिल्ला दौडाहामा आएका राजा वीरेन्द्रले समेत यस झाँक्रीढुङ्गाको विषयमा थाहा पाएर यहाँ आई पूजाआजा गरेका थिए ।